१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् ।
कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहेका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताए । अभियानलाई समर्थन नै गर्न खुलामञ्च पुगेका महतले महानगरपालिका आफैंले राहात पुर्याउनुपर्ने ठाउँमा दाताहरुले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्वीकार्य नहुने बताए ।
कांग्रेस नेता भीमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताए । संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उनले बताए ।
हण्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताए । तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिवद्धता जनाएको उनले बताए ।
कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ । महा-नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज पत्रकार सम्मेलन नै गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न अग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताएका थिए ।
सक्नेले श्रम गर्नुपर्ने र नसक्नेहरुलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने उनले पत्रकार सम्मेलनमा बताएका थिए ।