१९ कात्तिक, सुर्खेत । प्रदेश विपद् व्यवस्थापन केन्द्रले हाल सञ्चालनमा रहेका सबै क्वारेन्टिन हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको केन्द्रको बैठकले खाली गरिने क्वारेन्टिनका सामान नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको छ ।
क्वारेन्टाइन हटाइए पनि सबै सामान सुरक्षित राखेर आवश्यक पर्दा व्यवस्थापन गर्न सकिने गरी सेनाको जिम्मा लगाइएको छ । सार्वजनिक क्वारेन्टाइनको साटो प्रदेश सरकारले होम क्वारेन्टाइनलाई जोड दिएको छ । यसले गर्दा सरकारी तथा सार्वजनिक खर्चमा मितव्ययिता हुनाका साथै व्यक्ति स्वयंलाई मानसिक रुपले स्वस्थ रहन मद्दत पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।
“सार्वजनिक क्वारेन्टाइमा बस्न नागरिकहरु अनिच्छुक रहेकाले बनाइएका क्वारेन्टिन खाली गर्न लागेको हौंँ”, सामाजिक विकासमन्त्री दल रावलले भने, “हाललाई होम क्वारेन्टाइनको प्रभावकारितामा जोड दिने र पछि आवश्यक परेका खण्डमा पुनः सञ्चालन गर्न सकिनेछ ।” व्यवस्थापनको कमीका कारण नागरिक क्वारेन्टाइन बस्न नचाहने समस्या रहँदै आएको थियो ।
प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण रोकथामका लागि तिहारका बेला देउसीभैलोलगायत जमघटलाई निषेध गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै कोरोना उपचारका लागि विभिन्न राष्ट्रबाट प्राप्त हुने खोपका सम्बन्धमा सङ्घीय सरकारबाट प्राप्त स्वीकृतिबमोजिम केकति आवश्यक पर्ने हो भन्ने सम्बन्धमा पूर्वतयारी गर्न बैठकले सामाजिक मन्त्रालयलाई निर्देशन दिएको छ ।