
२० कात्तिक, काठमाडौं । भारतका पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ ।
भारतीय टेलिभिजन रिपब्लिकका प्रधान सम्पादक अर्नबलाई सन् २०१८ मा भएको आत्महत्या घटनामा दुरुत्साहन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो । साेही दिनकाे अबेर राति उनलाई हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पत्रकार अर्नबका वकिल अबाद पोन्डाले धरौटीमा उनको रिहाइका लागि अदालतमा निवेदन दिएका छन् । जसको सुनुवाइ बिहीबार हुने अनुमान गरिएको छ ।
सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकले आत्महत्या गरेका थिए । रिपब्लिक टेलिभिजनले दिनुपर्ने पैसा नदिएका कारण आफ्ना बुबा र हजुरआमाले आत्महत्या गरेको भन्दै डिजाइनरकी छोरीले आरोप लगाएकी छन् ।
सोही मुद्दा अनुसन्धानका लागि प्रहरीले रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्नबलाई पक्राउ गरेको हो ।
पत्रकार गोस्वामी तलको भिडिओमा आफ्ना शरीरका चोट देखाउँदै भनिरहेका छन्, ‘प्रहरीले मलाई घेराउ गर्याे । हातपात गर्याे, गर्धनमा समात्यो। हेर्नुस्, म बिना जुत्तामा छु ।’