
२० कात्तिक, काठमाडौं । सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ । सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन् ।
पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन् । त्यसपछि क्रमशः भारतमा ९२ र भुटानमा ९१.६, अफगानिस्तानमा ८२.५ र बंगलादेशमा ७९.८ प्रतिशत छ । नेपालमा निको हुने दर ७९.३ प्रतिशत छ । भारतमा सक्रिय संक्रमितको संख्या घटेर ५ लाख ३६ हजारमा झरेको छ । ७६ लाख ५६ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किसकेका छन् ।
‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिइयो । सरकार र नागरिक दुवै तहबाट हेलचेक्र्याइँ भयो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने, ‘अहिले अरिंगालको गोलामा ढुंगा हानेजस्तो अवस्था हो । अरिंगाल त रिसाएर टोक्दै हिँडेजस्तो संक्रमितहरूले पनि अरूलाई संक्रमण फैलाउन पुगेका छन् ।’ डा. मरासिनीले काठमाडौं उपत्यकालगायत सहरी क्षेत्र ‘अरिंगालको गोला’का रूपमा रहेको बताए। लक्षणविहीन संक्रमित पनि गाउँगाउँ पुगेको उनको भनाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।