
२१ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा अोलीबीच भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीसँगको भेट अर्थपूर्ण हुने बताइएको छ । नेपालसँगको सम्बन्ध सुधारका लागि भारतीय संस्थापनले सेनापतिमार्फत सन्देश पठाएको अनुमान गरिएको छ । सम्बन्ध चिसिएको बेला सैन्य कुटनीति प्रयोग र परिचालन गरेर सम्बन्ध सुधारका लागि पहल गर्ने पहिलेदेखिको प्रचलन हो ।
भेटमा दुई देशको सैन्य सम्बन्ध र रक्षा सहकार्यबारे छलफल हुने बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सिमा विवाद लगायतका दुई पक्षीय विषयमा छलफल हुनेसक्ने स्रोतले बताएको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको थियो । उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । दुई देशका सेना प्रमुखहरूबीच जंगीअड्डामा औपचारिक भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई सेनाबीचको घनिष्ठ सम्बन्धलाई कायम राख्दै द्धिपक्षीय रक्षा सहकार्य विस्तार जोड दिइएको छ । नरवणे आज पाँच बजे आफ्नो विशेष विमानबाट भारत फर्किनेछन् ।