बैँक / वित्त

बिओके र हिमालयन बैंकले चीनमा जिते मुद्दा, फसेको झण्डै डेढ अर्ब फिर्ता पाउने

bok and himalaya bank 1

२१ कात्तिक, काठमाडौं । बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकको काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका छन् । दुवै बैंकको रकम चाइना कन्स्ट्रक्सन बैंकले फिर्ता गर्नुपर्नेगरी हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले आदेश दिएको हो ।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत् बैंक अफ काठमाण्डू र हिमालयन बैंकबाट बैंक ग्यारेन्टीमार्फत् रकम भुक्तानी लिएको थियो । तर सो कम्पनीले आयोजनाको काम बीचैमा छोडिदिएपछि आयोजनाले बैंक ग्यारेन्टी बापतको रकम जफत गरेको थियो ।

कम्पनीको बैंक ग्यारेन्टी जफत भएपछि हिमालयन र बीओकेले चाइना कन्स्ट्रक्सन बैंकसँग त्यस्तो ग्यारेन्टीबापतको रकम भुक्तानी माग गरेको थियो । तर, सो बैंकले यस्तो माग अस्वीकार गरेपछि यो विषय अदालतसम्म पुगेको हो । तर, ठेक्का प्रक्रियामा बैंकहरुको भूमिका नहुने भन्दै बैंक ग्यारेन्टी बापतको रकम भुक्तानी गर्न आदेश दिएको हो ।

यो आदेश प्राप्त भएसँगै बैंक अफ काठमाण्डूको ९० करोड र हिमालयन बैंकको करिब ६६ करोड रुपैंया आउने बाटो खुला भएको छ । त्यसका लागि बैंकहरुले आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरेको जनाएका छन् । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतबाट यस्तै प्रकारको मुद्दा जित्दै २ अर्ब रुपैंया फिर्ता पाएको थियो ।

बीओके, हिमालयन र इन्भेष्टमेन्ट बैंकको रकम डुब्दा नेपाली बैंकहरुले विदेशी कम्पनीको लागि लिइदिने बैंक ग्यारेन्टी नै जोखिममा परेको विश्लेषण हुन थालेको थियो । तर दुवै मुद्दा नेपाली बैंकको पक्षमा आएपछि बैंकहरुले बैंक ग्यारेन्टीमा गर्दै आएको लगानी असुरक्षित नरहेको प्रमाणित समेत भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस