२२ कात्तिक, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी– १२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नंम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच सुनसरी देवानगञ्ज गाउँपालिका–७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई करिब ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले बिहीबार घरबाट पक्राउ गरेको छ । मेहताले करकापमा पारेर महिला कर्मचारीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले पुष्टि गरे ।
मेहतालाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । महिलाको स्वास्थ्य परीक्षण शुक्रबार नै इनरुवा अस्पतालमा गरिएको छ भने मेहता माथि मुद्दा चलाइएको छ ।