
२२ कात्तिक, काठमाडौं । देश-दर्शन बस सेवा प्रालिले कोभिड-१९ को बढ्दो सङ्क्रमणका बीच पनि आजबाट पर्यटक बस सेवा सुरु गरेको छ । देश-दर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले आज (शनिबार) देखि सेवा सुरु गरेको हो ।
देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्रि पर्यटक बस सेवा दिने गरी सुरु गरिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले बताए । देशका मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रिकालीन बस सेवा सञ्चालन गरेकाले पर्यटन विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने पनि उनले बताए ।
काठमाडौं-पोखरा, काठमाडौं-जनकपुर, काठमाडौं-वीरगन्ज, काठमाडौं-लुम्बिनी, काठमाडौं-चितवन र चितवन-पोखरामा पर्यटन बस सञ्चालनमा ल्याउने भएकाले आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने गुरागाईंले विश्वास व्यक्त गरे । उनले नयाँ गन्तव्यमा पर्यटन बस सञ्चालन गर्न सरकारी स्तरबाटै सहयोग हुनुपर्ने पनि बताए ।
कोभिड संक्रमणका कारण बसमा यात्रा गर्दा सुरक्षाका मापदण्डलाई अनिवार्य पालनागरी यात्रा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । देश दर्शनले शुभारम्भको एक सातासम्म काठमाडौंदेखि देशका विभिन्न स्थानमा जाँदा भाडादरमा ५० प्रतिशत छुट र काठमाडौं भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।