
२२ कात्तिक, नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका इन्जिनियर पर्वत पौडेल र बेलकोटगढी नगरपालिका–९ तिगाउँका घर भइ विदुर नगरपालिका–२ बट्टारमा होटल सञ्चालन गर्दै आएका नारायण भट्ट छन् । भट्टको विदुर नगरपालिका–२ बट्टारमा मिठाई पसल छ ।
सोही होटलमा बसेर चिया पिउँदै घुस मागेको रकमको कारोबार गर्न लाग्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई ७५ हजार रुपैयाँ नगदसहित शनिबार बिहान पक्रेको हो ।
भूकम्प पीडितको लाभग्राही सूचीमा पार्नका लागि पौडेलले पैसा मागेका थिए । उक्त रकम पौडेलले होटल सञ्चालक भट्टमार्फत लिन भनेको अख्तियारले जनाएको छ ।
पक्राउ परेकालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले कारवाहीका लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात मुद्दा दायर गर्ने जनाएको छ ।