बैँक / वित्त

एभरेष्ट बैंकको नाफा ५१ प्रतिशतले घट्यो, यस्तो छ कारण

everest bank

२४ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकको कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेख्य सुधार हुँदा पनि कोभिडका कारण ऋणीले व्याज भुक्तानी नगर्दा नाफामा उच्च गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था आधारित रिपोर्ट अनुसार बैंकको नाफामा ५१.५४ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्षको ३ महिनामा ६९ करोड रुपैंया नाफा कमाएको एभरेष्ट बैंकको नाफा यो वर्षको यही अवधिमा ३३ करोडमा सीमित भएको हो ।

एभरेष्ट बैंकको नाफा यसरी घट्नुमा खुद ब्याज आम्दानीमा भएको गिरावट र जगेडा कोषमा छुट्याउनुपर्ने रकममा भएको वृद्धि र बढ्दो सञ्चालन खर्च मुख्य जिम्मेवार रहेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ४३ करोड रहेको खुद ब्याज आम्दानी घटेर यो वर्ष १ अर्ब २ करोडमा झरेको छ । त्यस्तै, लोनलस प्रोभिजनका लागि ६ करोडमात्रै छुट्याएको एभरेष्ट बैंकले यो वर्ष २० करोड रुपैंया पुगेको छ ।

त्यसो त, बैंकले यो अवधिमा कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा केही कटौती गर्न सफल भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा करिब ४६ करोड रहेको कर्मचारी खर्च घटाएर ३८ करोडमा झार्न तथा अन्य सञ्चालन खर्च समेत १९ करोडबाट घटाएर १६ करोडमा सीमित गर्न बैंक सफल भएको छ । तर, बजार ब्याजदरसँग स्प्रेडदर समेत घट्दा व्यवसायबाट हुने आम्दानीमै गिरावट देखिएकोले नाफा घटेको हो ।

नाफा आधा भन्दा कम भए पनि व्यवसायको आकार भने बढेको छ । अघिल्लो वर्ष १ खर्ब ४३ अर्ब रहेको निक्षेप संकलनलाई बढाएर १ खर्ब ५६ अर्ब पुर्याउनु तथा १ खर्ब १२ अर्ब रहेको कर्जा लगानी १ खर्ब १५ अर्ब पुर्याउनु बैंकको सफलता हो । तर बजारमा अधिक तरलताको अवस्थामा थपिएको निक्षेपको व्यवस्थापन गर्न नसक्दा नाफा घटेको अवस्था देखिन्छ । यो अवधिमा ब्याज आम्दानीमा करिब ४२ करोडको गिरावट आउँदा ब्याज खर्च १ करोड मात्रै घट्दा खुद ब्याज आम्दानी घटेको हो । यसले अधिक तरलताको अवस्थालाई देखाउँछ । उता, प्रवाह भएका कर्जाको बक्यौता समयमै उठ्न नसक्दा प्रोभिजनिङ समेत बढेको हो ।

नाफाको सूचक घटे पनि अन्य वित्तीय सूचकमा भने बैंकको अवस्था सन्तोषजनक नै छ । पुँजीकोष अनुपात १३.०३ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपात ०.२२ मा रहँदा लोनलस प्रोभिजन निष्क्रिय कर्जाकाृे ७ गुणा भन्दा माथि छ । कस्ट अफ फण्ड ५.३७ प्रतिशत, सीसीडी रेसियो ७०.२७ प्रतिशत, आधारदर ७.०७ प्रतिशत तथा औसत ब्याजदर अन्तर ३.९४ प्रतिशत रहेको देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस