२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संकटविरुद्ध सचेतना अभियान र निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले सोमबार काठमाडौं निर्वाचन क्षेत्र–८ मा घरदैलो कार्यक्रम गर्दै निःशुल्क मास्क, अक्सिमिटर, स्यानिटाइजर र औषधि वितरण सुरु गरेका हुन् ।
अभियानअन्तर्गत् संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने र बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गर्ने उनले जानकारी दिए ।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे, डा.भूपेन्द्र बस्नेतलगायतका विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालहरुको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ । कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ ।