राजनीति

नेकपाको आन्तरिक विवादको छाया संसद्‍मा पनि

kp oli prachanda

२५ कात्तिक, काठमाडौं । सत्तासीन नेकपाको आन्तरिक विवादको छाया संसदीय समितिमा देखिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पार्टीको आन्तरिक समीकरणअनुसार नेकपाका सांसदहरू विभाजित भएर प्रस्तुत भएका हुन् ।

एकरुपता ल्याउन भन्दै देशको नाम नेपाल मात्र राख्ने सरकारको निर्णयको पक्षमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरू उभिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता त्यसको विपक्षमा रहे । दाहाल र नेपाल पक्षधर सांसदहरूको बलमा समितिले देशको नाम नेपाल मात्र राख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम नेपाल मात्र राख्ने र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गरेको थियो । संघीयता र संविधानको मर्म एवं भावनाविपरीत सरकारको निर्णय गरेको भन्दै दाहाल र नेपाल पक्षधर सांसदले समिति बैठकमा विरोध जनाएका थिए ।

दाहालनिकट पम्फा भुसाल, रेखा शर्मालगायत सांसदले जनताको रगत र पसिनाबाट आएको संघीयताको भावनाविपरीत सरकारले निर्णय गरेको भन्दै सरकारको निर्णयमा रोक लगाउनुपर्ने माग गरेका थिए । वरिष्ठ नेता नेपाल पक्षधर लालबाबु पण्डित, झपट रावललगायतले संघीय लोकतान्त्रिक गणतन्त्र शब्दावली प्रयोगमा आइसकेकाले सरकारले यतिबेला परिवर्तन गर्नु आवश्यक नभएको बताएका थिए ।

बैठकमा उपस्थित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको आन्तरिक विवादका कारण सरकारको निर्णयप्रति प्रश्न उठाइएको संकेत गरे । ‘प्रधानमन्त्री मन पर्दैन, मन्त्री मन पर्दैन भने भने भो’, परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा भने, ‘शंकाले लंका जलाउनु हुँदैन ।’

प्रधानमन्त्री ओली पक्षधर सांसद विजय सुब्बाले सरकारको निर्णयको बचाउ गरेका थिए । अर्का सांसद नवराज सिलवालले समितिको निर्णयप्रति असहमति राखेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस