
२५ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं ५ मा रहेकाे हिमाल पेट्रोल पम्पनजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सर्लाहीकाे मंलग्वाबाट काठमाडौं आइरहेको ना ५ ख ८४७४ नम्वरको यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थानकोट प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले मंगलबार बिहान साढे ४ बजे बसले ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको बताए ।
तरकारी बेच्न हिँडिरहेका बेला लोहारलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनलाई ठक्कर दिएर बस फरार भएको थियो । फरार बस हुलिया र सडकमा जोडिएको सिसी टिभी फुटेजको आधारमा समातिएकाे छ । सवारी चालक सुनिल श्रेष्ठ र यात्रुबाहक बसलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिन सफल भएको डीएसपी श्रेष्ठले बताए ।
सवारी चालक श्रेष्ठ र यात्रुबाहक बसलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिइ सवारी ज्यान सम्वन्धी कसुरमा अनुसन्धान गरिरहेको थानकोट प्रहरीले जनाएको छ ।