स्वास्थ्य

कहिले आइपुग्छ कुन खोप ?

Covid-19-vaccine

२६ कात्तिक, काठमाडौं । संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ? यसको उत्तर सहज छैन । तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्। अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन् । फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन् ।

जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले विकास गरेको खोपको परीक्षण सफल भएको घोषणा गरेको छ । विभिन्न ६ देशका ४३ हजार ५ सय ५३ व्यक्तिमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको फाइजर र बायोएनटेकको दाबी छ ।

यस्तै खोप विकासमा सफलताउन्मुख कम्पनी हो मोडर्ना इंक । अमेरिकन बायोटेक्नोलोजी कम्पनी मोडर्ना इंकले पनि खोप विकासमा महत्त्वपूर्ण सफलतानजिक रहेको घोषणा गरेको छ। उसले तेस्रो चरणको परीक्षणअन्तर्गत ३० हजार व्यक्तिमा खोप परीक्षण गर्दै छ । जसमध्ये २५ हजार ६ सय ५४ जनाले दोस्रो खोप लिएका छन् ।

मोडर्ना र फाइजर र बायोएनटेकले यही महिना अन्तिमसम्म सर्वसाधारणमा खोप प्रयोगका लागि आवश्यक अनुमति आपत्कालीन रूपमा प्राप्त गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यी दुवैले अर्को वर्ष मध्यसम्म आमनागरिकको उपभोग गर्ने गरी खोपको विकास गरिसक्ने घोषणा गरेका छन् ।

तेस्रो चरणको परीक्षणको अन्तिम चरणमा रहेको खोप हो, अक्सफोर्ड–एस्ट्राजेनेका बेलायत । अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको यो खोप डिसेम्बर अन्तिमसम्म तेस्रो चरणको परीक्षणको नतिजा आउन सक्छ । तर, क्रिसमसअघि नै नतिजा आउन सक्नेमा भने स्वयम् खोपका प्रमुख परीक्षण अन्वेषक ढुक्क छैनन् । खोपका बारेमा अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अन्वेषक एन्ड्र्यु पोलार्डले भने, ‘यो वर्षको अन्तिमसम्म हामी खोप विकासमा सफल हुन्छौं।’ उनले सफलताको नजिक पुगे पनि ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे ।

जोनसन एन्ड जोनसन कोरोना भाइरस खोप
जोनसनले अघिल्लो महिना ६० हजार व्यक्तिमा तेस्रो चरणको खोप परीक्षण सुरु गरेको थियो । परिणाम अर्को वर्षको सुरुसम्म आइसक्ने उसको विश्वास छ । परीक्षण सफल भए जोनसनले सन् २०२१ सम्ममा एक अर्बभन्दा बढी परिमाणमा खोपको विकास गर्ने भएको छ । पहिलो र दोस्रो चरणको परीक्षणमा खोपले मानिसमा प्रतिरोधात्मक क्षमता बढाएको अनुसन्धानले देखाएको छ ।

गामालिया रिसर्च सेन्टर (रुस)
गामालिया रिसर्च सेन्टरले पनि कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको छ । स्पटनिक भी नाम दिइएको खोप विश्वकै पहिलो दर्ता गरिएको खोप भएको दाबी छ । जुन विश्व स्वास्थ्य संगठनले तेस्रो चरणको परीक्षणका लागि मान्यता दिएको विश्वका १० खोपमध्ये एक हो। रसियाका ४० जना नागरिकमा यसको परीक्षण हुँदै छ । दुई चरणको खोप प्रभावकारी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । रसियाली नागरिकले खोप निःशुल्क पाउनेछन् भने सुरुमा स्वास्थ्यकर्मी, शिक्षक, यातायातकर्मी र सुरक्षाकर्मीलाई खोप उपलब्ध गराइनेछ ।

तेस्रो चरणको परीक्षण अनुमति पाउने विश्वका १० खोपमध्ये चीनमा विकास भइरहेको क्यानसिनो पनि एक हो । क्यानसिनोले शनिबार परीक्षण सुरु भएको जनाएको छ । उसले क्यानसिनो खोप मेक्सिकोमा परीक्षण गरिरहेको छ । १५ हजार नागरिकमा परीक्षण गरिने खोप मेक्सिकी अधिकारीबाट अक्टोबरमै अनुमति पाइएको कम्पनीले जनाएको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार मेक्सिको सरकारसँग क्यानसिनोले ३ करोड ५० लाख खोप उपलब्ध गराउने सम्झौता गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस