
२६ कात्तिक, काठमाडौं । ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले जबरजस्ती चन्दा असुलीका लागि टेलिफोनबाट धम्क्याउने समूह मध्येका चार जनालाई पक्राउ गरेको जनाएको छ । महाशाखाको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट ककनी २ का ३३ वर्षीय बिन्तोष सिलवाल (सुनार), रामेछाप, सुनापती ३ का ३१ वर्षीय रामदल श्रेष्ठ (अटल), काभ्रे, तिमाल ५ का ५२ वर्षीय तिर्थमान तामाङ र चितवन, भरतपुर १३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेको महाशाखाले जनाएको छ ।
उनीहरूले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानका व्यवसायीहरुलाई फोन गरी नेकपा, विप्लव समूहको पूर्व जिल्लासेक्रेटरी र कार्यकर्ता हौं भनी ३ करोड चन्दा माग गरेका थिए ।
साथै उनीहरूले माग गरे बमोजिम चन्दा नदिएमा भौतिक कारवाही गर्ने धम्कीसमेत दिएका थिए । उनीहरुलाई ‘आपराधिक लाभ’ लिन खोजेको मुद्धामा अदालतबाट ३ दिनको म्याद लिएर महानरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।