राजनीति

बालुवाटारले बुनेको तानाबाना पेरिसडाँडाले बर्बाद बनाइदियो !

oli prachanda nepal

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीले केपी ओलीले भने– ‘कोटेश्वरतिरको तानाबाना सबै भताभुङ्ग पारिने छ !’ तर, जुन विषयको तानाबाना कोटेश्वरमा बुनियो, त्यो भताभुङ्ग भएन । बरु, बालुवाटारले बुनेको तानाबानाचाहिँ पेरिसडाँडाले बर्बाद बनाइदिएको छ ।

सन्दर्भ हो, नेपाल बार एशोसिसनको तर्फबाट न्यायपरिषद् सदस्य सिफारिस गर्ने विषय । न्यायाधीश नियुक्ति, सरुवा, बढुवा र तीविरुद्ध परेका उजुरी सुन्नेजस्ता संवेदनशील जिम्मेवारी हुने त्यहाँ सदस्य पठाउन भनेर शुरुदेखि नै बालुवाटारबाट वरिष्ठ अधिवक्ता महेश नेपालको नाममा जोड गरियो । तर, ०७२ सालमा छोटो समय न्यायपरिषद् सदस्य भएका र असोजमा संविधान जारी गरी पुनः नियुक्ति र संसदीय सुनुवाईको अत्तो थापेर पदमुक्त गराइएका रामप्रसाद श्रेष्ठ पनि प्रत्यासी रहेको स्थितिमा उनलाई नै पठाउनुपर्ने अर्को पक्षको चाहना थियो ।

प्रधानमन्त्रीले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन माधव–प्रचण्डले कोटेश्वरमा वकिलहरूसँग बसेर तानाबाना बुनेपछि बल्ल बालुवाटारमा छलफल गर्न आएको सार्वजनिक रुपमा बताए । तर युक्त छलफलको खास कुराचाहिँ न्यायपरिषद्मा सदस्य पठाउन बारभित्रको समिकरण मिलाउने रहेछ । प्रधानमन्त्रीले ‘तानाबाना भताभुङ्ग पारिने’ भन्नुको अर्थ थियो, न्यायपरिषद्ले सबै जिल्लामा निर्वाचन गराउने न्यायाधीश र विशिष्ट श्रेणीका कर्मचारीलाई सत्य निरुपण तथा बेपत्ता छानवीन आयोगमा समेत पठाउन सक्ने प्रावधान रहेकोले यो सबै काम गर्ने मुहानमै महेश नेपाललाई पठाउने र सर्वोच्चको न्यायाधीश हुँदै केही वर्षपछि प्रधानन्यायाधीशसम्म बनाउन बाटो खोलिदिने । तर, नेपाल बारले बालुवाटारको यो ‘तानाबाना’ को ‘भ्रुणहत्या’ नै गरिदियो । र, यसका लागि पनि राष्ट्रिय राजनीतिमा झैँ बहुपक्षीय सहमति कायम गरियो ।

नेपालबारसँग न्यायपरिषद् सदस्यमात्रै हैन, वकिललाई लाइसेन्स दिने र खोस्ने बार काउन्सिलका लागि पनि दुईजना सदस्य सिफारिस गर्नुपर्ने जिम्मेवारी थियो । यसैमा भागबण्डा गरियो– न्यायपरिषद् पूर्वएमाले, बार काउन्सिलका दुईमध्ये एकमा पूर्वमाओवादी र अर्का कांग्रेससम्बद्ध वकिललाई पठाउने । त्यसअनुसार, बार काउन्सिलका लागि त समस्या भएन । तर, न्यायपरिषद्का लागि ३३ आवेदकभित्र पनि पूर्वएमालेका दुई भेट्रान प्रत्यासी थिए, जसले फरक–फरक समूहको प्रतिनिधित्व गर्थे ।

अनि, माधवपक्षीय पूर्वएमालेलाई जिताउन पाए बारमाथि गर्न खोजिएको सरकारी हस्तक्षेप पनि अन्त्य हुन्थ्यो भन्ने पक्षका पदाधिकारी एकजुट भए । र, मतदानको विधिबाट रामप्रसादले महेशलाई हराइदिए । बारले चाहिँ त्यही निर्णयलाई आफ्नो लेटरप्याडमा ‘सर्वसम्मत’ भनी राष्ट्रपतिसमक्ष सिफारिस पठाएको छ । बार काउन्सिलमा पूर्वमाओवादी पक्षका वरिष्ठ अधिवक्ताहरू भीम गुरुङ र कांग्रेससम्बद्ध सुनीता चौधरी सिफारिस गरिँदै छन् ।

बालुवाटारबाट जसरी पनि महेश नेपाललाई सिफारिस गराउनु भन्ने उर्दीले ओलीपक्षकै केही वकिलहरू आगो भइरहेका थिए । त्यसमाथि ओलीपक्षधरले बारमा रहेका तीनजना कांग्रेस पृष्ठभूमिका पदाधिकारी चोर्न सक्ने हिसाब निकालेकोमा त्यो पनि भताभुंग भयो । अर्को, हिसाब थियो, थर मिलेका कारण महेश नेपाल भएपछि माधव नेपाल रिजर्भ बस्लान् भन्ने । तर, माधव रामप्रसादको पक्षमा पेरिसडाँडा र कोटेश्वरतिर बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको टोलीसँग सक्रिय भएको खबर जनआस्था सप्ताहिकले छापेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस