समाचार

स्थानीयको पटक–पटकको आन्दोलनपछि सडक कालोपत्रे गरिँदै

sunakothi

२६ कात्तिक, काठमाडौं । विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मङ्सिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् ।

कात्तिक मसान्तसम्ममा बेसको काम सकाएपछि मङ्सिर १५ सम्ममा कालोपत्र सकिने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताए । उनका अनुसार स्थानीयवासीसँग निर्माण कम्पनीले निर्माण भइरहँदा दैनिक दुईपटक पानी खसालेर धुलो कम गर्ने सहमति भएको छ ।

सो खण्डको निर्माणको जिम्मेवारी पाएको सैलुङ निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । आयोजनाले पहिले तोकिएको मापदण्ड २० मिटर चौडाइमा निर्माण गर्न खोज्दा ढिलाइ भएको उनले बताए । मन्त्रिपरिषद्को गत पुस ३ गतेको बैठकले काठमाडौं उपत्यकामा विस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो ।

ढोलाहिटी–लेले सडक विस्तार चार वर्ष पहिले शुरु भएको थियो । अहिले पनि टाखेल–लेलेलगायत चौडाइ उपलब्ध भएका स्थानमा मापदण्डानुसार नै विस्तार भइरहेको छ । आयोजनाले गत वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक निर्माण गरेको थियो । उपत्यकामा विस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयवासीले घरलगायत संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो । जति चौडाइ उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णयपछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ ।

आगामी पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाले जनाएको छ । पटक–पटक ठेक्काको अवधि थपिए पनि अब थप्न नमिल्ने भएकाले कम चौडाइमै कालोपत्र गर्न लागिएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस