२६ कात्तिक, काठमाडौं । युनाइटेड इदी-मार्दी एन्ड आरबी हाइड्रोपावरको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मिति सरेको छ । कात्तिक २७ गतेबाट आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीको निष्कासन मिति सरेको हो ।
अब मंसिर ३ गतेदेखि यस आइपीओ निष्काशन खुला हुनेछ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा कम्पनीले आइपीओ बिक्री खुला मिति परिवर्तन गरेको हो । कम्पनीले कुल ८ लाख ७३ हजार ९ सय १० कित्ता सेयर जारी गर्न लागेको छ ।
यसमा कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर पनि थप गरेको छ । यसअघि स्थानीयलाई जारी गरिएको ४ लाख २० हजार कित्तामध्ये २ लाख ४३ हजार ९१० कित्ता सेयर बिक्री हुन सकेको थिएन । हाल जारी हुन लागेको कुल सेयरमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ ।
यस्तै, कर्मचारीका लागि १७ हजार ४ सय ७८ कित्ता सेयर छुट्याइएको छ भने बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।