२६ कात्तिक, बारा । प्रहरीले पटाकाको बहानामा विष्फोटक पदार्थ ओसारपसार गर्ने २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुरले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरको यात्रुबाहक बसमा विष्फोटक पदार्थसहित २ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीकाअनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप–महानगरपालिका–५ स्थित फेटा गाँउपालिका–१ त्रिवेणी बस्ने २८ वर्षीय लालबाबु दास र सोही स्थान बस्ने २७ वर्षीया को कन्हैया दास छन् ।
पक्राउ परेकाहरूले बसको पछाडीको डिक्की भित्र खुर्सानी भएको बोरा भित्र लुकाई छिपाई राखी लैजाँदै गरेको अवस्थामा नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १(एक) किलो ५०० (पाँच सय) ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ (छ) किलो ९०० (नौ सय ) ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसुरमा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।