समाचार

अझै बनेनन् कोटेश्वर-कलङ्की सडकका तीन पुल

kalanki koteshwor

२६ कात्तिक, काठमाडौं । चक्रपथको कोटेश्वर–कलङ्की खण्डका विभिन्न स्थानमा दुई वर्ष पहिले निर्माण शुरु भएका पुल अझै सम्पन्न भइसकेका छैनन् । चीन सरकारको सहयोगमा बिस्तार भएको सो सडकमा नेपाल सरकारले दुई वर्ष पहिले छ स्थानमा आकाशेपुल निर्माण गर्न थालेको थियो । तीमध्ये तीन स्थानमा सम्पन्न भए पनि तीन स्थानमा डिजाइनमा समस्या पाइएकाले अघि नबढेको काठमाडौँ चक्रपथ योजनाका प्रमुख अर्जुन सुवालले बताए ।

उनका अनुसार पुल निर्माणको अवधि तीन महिना बाँकी भए पनि डिजाइनको समस्याका कारण सो अवधिमा सकिने देखिँदैन । अहिले डिजाइन सच्याउने काम भइसकेको उनले जानकारी दिए । उनले भने– “डिजाइनको कुरा हाम्रो समस्या भएकाले अवधि थप हुनेछ ।” चिनिँया निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण  गरेकामा नेपाल सरकारले थप छ ठाउँमा आकाशे पुलको निर्माण शुरु गरेको थियो ।

कम्पनीले कोटेश्वर, बागडोल र ग्वार्कोमा पुल बनाएको थियो । यी पुल मात्रै पर्याप्त नभएको र पैदलयात्रुलाई सडक वारपार गर्न कठीन भएकाले सडक विभागले एक–एक किलोमिटरको दूरीमा पर्ने गरी थप स्थानमा पुल निर्माण गरेको थियो । अहिलेसम्म बालकुमारी, सातदोबाटो र एकान्तकुनामा सम्पन्न भइसकेको छ । सानेपा, बल्खु र महालक्ष्मीस्थानमा सच्याइएको डिजाइनअनुसार निर्माण गरिने प्रमुख सुवालले जानकारी दिए ।

वि.सं २०७१ मा कोटेश्वर–कलङ्की सडकको विस्तार शुरु भएकामा विसं २०७५ मा सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । सोही सडकमा (खसीबजारदेखि कलङ्की चोकसम्म) नेपालमा नै पहिलो पटक ‘अण्डर पास’ समेत निर्माण भएको थियो । चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्कीदेखि चाबहिल सडक बिस्तार गर्ने भएको छ । चिनिँया पक्षलाई हस्तान्तरण गर्न सडक विभागले सडक निर्माणस्थलमा रहेका संरचना हटाउने काम गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस