समाचार

नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाउनेबारे सहमति

buspark

२६ कात्तिक, काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कको रुपमा रहेको नयाँबसपार्कलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्नेबारे यातायात व्यवसायी, मजदूर र बसपार्कबीच सहमति भएको छ ।

देशमा प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ बसपार्कमा सञ्चालित टिकट बुकिङ काउण्टरलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्नेबारे आज यातायात व्यवसायी, तीनवटै यातायात मजदूर सङ्गठन र नयाँबसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिबीच सहमति भएको हो ।

सहमति पत्रमा ल्होत्से बहुउद्देश्यीयका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य र तीनवटै ट्रेड युनियनका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष कुँवरले सरकारले लिएको नीतिअनुसार नयाँ बसपार्कलाई व्यवस्थित र प्रविधिमैत्री बनाएर अगाडि बढ्न लागेको जानकारी दिए । उनले बसपार्क भित्र कार्यरत कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गरी योग्यताका आधारमा कार्यविभाजन गरी सरकारले तोकेको सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यस्तै, यातायात संस्थाको पहिचान सहितको सङ्केत बोर्ड राख्ने र दक्ष श्रमिकहरुबाट सेवा प्रदान गर्न आवश्यक व्यवस्था ल्होत्से सहकारीले गर्ने, झैझगडा गर्ने, डर धम्की दिने, कुटपीट गर्ने, बोर्ड च्यात्ने कार्य आगामी दिनमा कोही कसैले नगर्ने सहमति पत्रमा उल्लेख छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष कर्माचार्यले यातायात क्षेत्रको सुधारका लागि उक्त सम्झौता गरिएको जानकारी दिए । नयाँ बसपार्क राष्ट्रिय बसपार्क भएकाले यसलाई व्यवस्थित गर्ने जिम्मा व्यवसायी, मजदूर र ल्होत्सेको भएको उनको भनाइ छ ।

यसैगरी, बसपार्क भित्र कार्यरत श्रमिकका लागि खानेपानी, शौचालय र सूचनापटी सहितको विश्राम गृहको व्यवस्थापन गर्ने, बसपार्कमा यातायात सञ्चालन, परिचालन व्यवस्थापन तथा समस्या समाधानका लागि बहुउदेश्यीय संस्था र तीनवटै मजदुर सङ्गठनहरु सम्मिलित तहगत कार्यदल बनाउने पनि सहमति बनेको छ ।

नयाँ बसपार्कमा यातायत सेवा सञ्चालन तथा व्यवस्थापनमा कुनै समस्या आइपरेमा संयुक्त कार्यदलले सम्बोधन गर्ने सहमति बनेको ल्होत्से बहुउदेश्यी प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए । ल्होत्से बहुउदेश्यीय प्रालिले प्रविधिमैत्री १४ टिकट काउण्टर निर्माण गरिसकेपनि बाँकी काउण्टर चाँडै नै निर्माण गर्ने जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस