
२७ कात्तिक, अफगानिस्तान । ३३ वर्षकी खातिराले अन्तिम पटक देखेको दृश्य भनेको तीनजना पुरुषलाई मोटरसाइकलमा आइरहेको थियो तर तीनै तीनजना पुरुषले उनलाई अफगानिस्तानको मध्य गज्नी प्रान्तमा रहेको पुलिस स्टेशनको जागिर खाएर बाहिर निस्किरहेका बेला आक्रमण गरे । ती तीन पुरुषले उनलाई गोली हाने र चक्कूले दुबै आँखा घोपिदिए ।
अस्पतामा होशमा आउँदा उनका लागि सबैतिर अँध्यारो थियो ।
‘मैले चिकित्सकहरूलाई सोधें– किन केही पनि देखिरहेको छैन ? उनीहरूले आँखामा घाउ भएकाले पट्टी लगाइरहेको मलाई बताए । तर मेरो दृष्टि गुमिसकेको मैले त्यतिबेला थाहा पाएँ,’ उनले भनिन् ।
उनका पिताले उनलाई घरबाहिर काम गर्न नदिनका लागि निकै जोड गरेका थिए । बुवाले नै तालिबान लडाकूहरूलाई खबर दिएर छोरीको आँखा निकाल्न लगाएको खातेरा बताउँछिन् ।
तालिबानले भने घटनामा आफ्नो संलग्नता नरहेको बताएको छ ।
खातेराका लागि यस आक्रमणले आँखा मात्र लगेन, सपना समेत चकनाचुर बनायो । स्वतन्त्र करीयर बनाउने उनको सपना थियो । उनी केही महिनाअघि मात्र गजनी प्रहरीको अपराध शाखामा अधिकृत बनेकी थिइन् ।
खातेरामाथिको आक्रमण महिलाले जागिर खाएको कुरालाई कट्टरपन्थीहरूले नरुचाएको एक प्रतिनिधि घटना हो । अनि खातेराले प्रहरी अधिकृतको जागिर खाएको कुराले तालिबानलाई क्रुद्ध बनाएको पनि हुन सक्छ ।
अफगानिस्तानको अनुदारवादी सामाजिक परम्परा र अमेरिकाले सेना फिर्ता लगेपछि सुरो बनेको तालिबानले प्रभाव बढाउँदै जाँदा महिलामाथिको आक्रमण बढेको विश्वास अधिकारवादीहरूले गरेका छन् ।