
२७ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च बेहोर्ने भएको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले अध्यक्ष केसीको उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।’
केही दिन अघिबाट निमोनियाले ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । हाल केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले सहयोग गर्न समेत जनमोर्चाले अपिल गरेको थियो ।
राष्ट्रीय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।
— Bishnu Prasad Paudel (@bpaudel1959) November 12, 2020