
२७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद तथा पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले बिहीबार शोक वक्तव्य जारी गर्दै गौचनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष गौचनको ८५ वर्षको उमेरमा बुधबार बिहान साढे ४ बजे काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । उनी २०४८ सालमा बागलुङ निर्वाचन क्षेत्र ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।
कांग्रेस सभापति देउवाले गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेसका अग्रज व्यक्तित्व श्री ओमकारप्रसाद गौचनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्वर्गीय गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्याउनुभएको सक्रिय योगदान सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”