स्वास्थ्य

परीक्षण सफल भएपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल

Bhanubhakta Dhakal

२७ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् । उनले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको जनाए ।

प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को  आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको एक सय शै्ययाको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गरे ।

उनले उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताए । मन्त्री ढकालले सरकारले सुविधासम्पन्न तीन हजार ५०० सय शै्यया थप गर्ने तयारी गरेको जानकारी दिँदै दुई  हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख  र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको  जानकारी दिए । मन्त्री ढकालले आजै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस