समाचार

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

bus accident

२८ कात्तिक, बैतडी । बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर भीरबाट खसेर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार मृतक र घाइतेहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ ।

बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए । मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ ।

प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस