
२८ कात्तिक, काठमाडौं । विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट भएका आदेशको प्रतिलिपि पेस गर्न आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू बालेन्द्र रुपाखेती र नित्यानन्द पाण्डेयको इजलासले शर्माको अभियोगको अनुसन्धान कहाँ पुग्यो भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जवाफसमेत मागेको छ ।
अदालतले २०७६ फागुनमा निजामती किताबखानाबाट शर्माको सम्पत्ति विवरण झिकाउने आदेश दिएको थियो । तीन वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध दुईवटा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। तीमध्ये एउटा राजस्व चुहावट र अर्को गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित छन् । यसअघि अदालतले मागेको विवरण शर्माले पेस गरेका छन् ।
शर्माविरुद्ध अख्तियारले कर फस्र्योट आयोगमा सदस्यसचिव रहँदा एक अर्ब राजस्व हिनामिना गरेको अभियोगपत्र दायर गरेको थियो । त्यस मुद्दामा उनी एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । त्यसलगत्तै अख्तियारले परिवारको नाममा सम्पत्ति लुकाएको भन्दै अर्को मुद्दा दर्ता गरेको थियो । शर्मालाई ४५ वटा करदाताको बक्यौता मिनाहा गरेको लगायतको आरोप लागेको छ । त्यसै विषयमा अनुसन्धानको जवाफ पेस गर्न विशेषले आदेश गरेको आजको नागरिक दैनिकमा खवर छ ।