अर्थनीति

आलुको उत्पादन घट्यो

aalu kheti

२८ कात्तिक, बाग्लुङ । गत वर्ष ४० मुरी आलु भित्र्याएका बागलुङका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सके । बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो ।

तमानखोला गाउँपालिका–४ लाम्मेलाका छन्त्यालले भने, “अहिले आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो ।” चार वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्यालले सुनाए ।

आलु कम फलेपछि यो वर्ष भाउ पनि महँगियो । शुरुमा एक पाथी आलु रु १०० मा बिके पनि पछि बढेर गाउँमै रु १५० सम्म पुग्यो । अधिक पानी परेका कारण आलुको उत्पादन घटेको वडाध्यक्ष उदिम छन्त्यालले बताए ।

वडाध्यक्ष छन्त्यालका अनुसार लाम्मेलाका २५० घरमै आलु खेती हुन्छ । औसतमा हरेक घरमा वार्षिक १० क्विन्टलका दरले आलु फल्छ । सिङ्गै गाउँभरि गर्दा दुई हजार ५०० क्विन्टलभन्दा बढी आलु उत्पादन हुन्छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित लाम्मेलामा फलेको आलु स्वादिष्ट र स्वस्थकर मानिन्छ । गाउँ भित्रिने अतिथि/पाहुनालाई टक्र्याउने पहिलो परिकार पनि आलु नै हुन्छ ।

लाम्मेलाको आलु बिक्रीका लागि सदरमुकाम बागलुङ बजारलगायत टाढाका शहरी क्षेत्रसम्म पुग्छ । ठूला व्यापारीहरु गाउँमै पुगेर किसानबाट आलु खरिद गर्छन् । धेरै जग्गामा आलु लगाउने किसानले आलुबाटै भएको कमाइले घरधन्दा चलाउँछन् । उत्पादन बढेका बेला कुनै परिवारले त डेढ/दुई लाखसम्म कमाउँछन् ।

बसाइँसराइ, श्रमशक्तिको विदेश पलायन इत्यादि कारणले पछिल्लो समय आलु खेती विस्तारै कम हुँदै गएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले छ वटै वडामा आलु खेती हुने गरेको बताए ।

उनका अनुसार गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु ‘जोन’ कार्यक्रममा समावेश छ । उक्त परियोजनामार्फत गत वर्ष आलु किसानलाई कृषि सामग्री र औजार वितरण गरिएको थियो । यो वर्ष कृषि समूह निर्माण, बिउ वितरणलगायतका कार्यक्रम भइरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस