समाचार

सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला यसपालि नहुने

Kedar jatra

२८ कात्तिक, डोटी । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो ।

मनले मागेको वर प्रदान हुने विश्वासका कारण उक्त मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत बर्सेनि भक्तजनहरु दर्शन गर्न तथा आफ्नो भाकल गर्न आउने गरेका छन् । बडिकेदार–५ को उच्च लेकाली डाँडामा तिहारपछि उक्त मेला लाग्ने गर्दछ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बडिकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभर यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले तिहारको देउसीभैलोदेखि ठूला मेलापर्वहरु नमनाउन तथा त्यस्ता मेलामा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरी गाउँपालिकाभित्र मनाइने प्रसिद्ध बडिकेदार मेला, अलाणी मेला, धिर्काणी मेलालगायतका मेलापर्व मनाउन रोक लगाइएको जनाएको छ ।

यहाँ आयोजना हुने मेलापर्वमा तराई तथा भारतबाट पनि दर्शनार्थीहरु आउने तथा भिड बढी लाग्ने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले गाउँपालिकाभरमा हुने सबै मेलापर्व पूर्णरूपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस