
२८ कात्तिक, सिराहा । सिराहाको गोलबजारबाट सशस्त्र प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका– १२ बस्ने धीरज यादव, सञ्जय राय र कल्याणपुर नगरपालिका – नं.७ बस्ने विमलेन्द्रकुमार नायक छन् ।
उनीहरूको साथबाट ६ लाख ८४ हजार नक्कली नेपाली नोटसमेत बरामद भएको सशस्त्र प्रहरीका प्रदेश २ कार्यालय महोत्तरीले जनाएको छ । गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा बेसले वडा नं. ६ स्थित वीरेन्द्र महतोको घरमा विगत केही दिनदेखि शंकास्पद गतिविधि बढ्न थालेको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा नक्क्ली नोट, नक्कली नोट छाप्ने मेसिन, एक ल्यापटप र मोटरसाइकलसमेत बरामद गरेको हाे ।
लागुऔषध कारोबारी हुन सक्ने आशंकाका साथ बेस क्याम्पका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन थापा खानतलासीका लागि उक्त स्थानमा पुग्दा १०४ तयारी जाली नोट र ५८० जाली नोट एफो साइजको कागजमा छपाई गरी कटिङका लागि तयारी अवस्थामा राखिएको बताए ।
बरामद जाली नोट, नोट छाप्ने मेसिन र उक्त कार्यक्रमा संलग्न ३ जनालाई कानुनी प्रक्रिया पूरा गरेर थप अनुसन्धानको लागि नजिकै रहेको नेपाल प्रहरीलाई बुझाइएको थापाले बताए । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।