समाचार

सबै शहरी सडकमा साइकल लेन बन्नुपर्छ: शहरी विकासमन्त्री श्रेष्ठ

krishna gopal sth

२८ कात्तिक, काठमाडौं । शहरी विकास मन्त्रालयले सबै शहरी सडकमा अनिवार्य रुपमा साइकल लेन हुनुपर्ने जनाएको छ । शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भैरहेको सडकमा साइकल लेन छैन । अधिकांस निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन् ।

मन्त्रालयले अब बन्ने र बनिरहेका सबै शहरी सडकमा साईकल लेन बनाउनुपर्ने स्पष्ट पारेको छ । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताएका छन् । उनले साइकल लेन सहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबनाएको भए तत्काल बनाउन निर्देशन पनि दिएका छन् ।

साइकल प्रेमी अभियन्ताको तर्फबाट नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएको छ । मन्त्री श्रेष्ठले १० बुँदे अनुरोधपत्र बुझ्दै शहर विकाससँगै साइकल लेनको विस्तार गर्नुपर्ने बताए । उनले भने– ‘वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ । ‘साइकल प्रेमी युवा अभियन्ताले दिएका सुझावलाई म कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु’ मन्त्री श्रेष्ठको भनाई थियो ।

उनले अभियन्ताले दिएको सुझावलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने र सोको आधारमा सातै प्रदेश र ठुला शहर रहेका स्थानीय निकायमा सल्लाह गरी सबै सडकमा साइकल लेन बनाउन अगुवाई भूमिका खेल्ने बताए । मन्त्रालयले शहरी विकास मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालय, सोसाइटीका अधिकारी, वातावरणविद् लगायतका अधिकारी सम्मिलित कार्यदल बनाएर काम अघि बढाउने समेत मन्त्री श्रेष्ठले बताए ।

सो कार्यक्रममा आफ्नो धारणा राख्नै सचिव डा.रमेशप्रसाद सिंहले सबै शहरी सडकमा साइकल लेन बनाउने प्रतिबद्धता जनाए । उनले भने– ‘ पोखरा,भरतपुर, काठमाडौं, विराटनगर, जनकपुर लगायत ठुला शहरी सडकमा साइकल लेन बनाउनैपर्छ । त्यस बाहेक हाल निर्माणाधिन सडकमा हल लेन हुनैपर्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस