२९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवलाय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर ओलीमा व्यक्तिवादी, एकाधिकारवादी र गुटवादी सोच रहेको आरोप लगाएका छन् । उनले पार्टी र सरकारका सम्बन्धमा तालमेल र समन्वयको अभाव रहेको जनाएका छन् । ‘पार्टीले आफ्नै सरकारलाई र सरकारले आफ्नै पार्टीलाई सहयोग नगर्ने प्रवृत्ति बढ्दो छ । हाम्रो आजको संवैधानिक र राजनीतिक व्यवस्थाअन्तर्गत पार्टीले सत्ता चलाउने सैद्धान्तिक प्रश्नको व्यावहारिक निरुपण हुन सकिरहेको छैन । यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’, उनको प्रतिवेदनमा उल्लेख छ, ‘वाम गठबन्धन र कम्युनिस्ट एकताबाट अत्तालिएका देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु हाम्रो यो स्थितिबाट हौसिँदै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका विरुद्ध तथा हाम्रो पार्टी र कम्युनिस्ट आन्दोलनका विरुद्ध आफ्नो षड्यन्त्रलाई नयाँनयाँ रुपमा अगाडि बढाइरहेका छन् । आफ्नो रणनीतिलाई अगाडि बढाउने सन्दर्भमा हालै विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको बीचमा भएको सामरिक र अन्य सम्झौताले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको अगाडि नयाँ चुनौती थपिएका छन् ।’
दाहालको प्रतिवेदनमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र एवं नेपाल कम्युनिस्ट पार्टीका अगाडि निकै नै गम्भीर समस्या खडा गरेको उल्लेख छ । ‘यी गम्भीर र जटिल समस्याको सामना अब ससाना प्राविधिक जोडघटाउ वा पदीय भागबन्डाबाट गर्नु असम्भव छ । यसका निमित्त वैचारिक–राजनीतिक कार्यदिशा, संगठनात्मक विधि–पद्धति र कम्युनिस्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ’, उनले भनेका छन् । उनका अनुसार ओली दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने, नवउदारवादी पुँजीवादलाई पछ्याउने व्यक्ति हो । ‘व्यवहारतः उहाँ (ओली) ले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने नवउदारवादी पुँजीवादलाई नै पछ्याइरहनुभएको छ’, दाहालले उल्लेख गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।