समाचार

मोटरसाइकल चोरीका घटना बढ्दै

bike

३० कात्तिक, चितवन । जिल्लामा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र केटिएम डुकजस्ता महङ्गा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकल ज्यादै न्यून छ । मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जोकोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाइ छ । जिल्लामा सिसीटिभी क्यामेराको सञ्जाल नहुँदासमेत चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्न असमर्थ हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ बताउँछन् ।

पछिल्लो समय चितवन प्रहरीले कात्तिक २३ गते चोरीका मोटरसाइकलसहित चोरीमा संलग्न सात जनालाई सार्वजनिक गरेको थियो । जिल्लाको मुख्य बजार क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्नलाई प्रहरीले ग्राहक बनेर पक्राउ गर्न सफल भएको गुरुङले बताए । उनीहरुले मोटरसाइकल चोरी गरेपछि तुरुन्तै टाढा नलैजाने भन्दै गुरुङले चोरीको मोटरसाइकल कतै झाडीमा फालेर जाने र दुई/तीन घण्टापछि अर्को व्यक्ति आएर लिएर जाने गरेको अनुसन्धानबाट खुलेको बताए ।

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जिल्लामा १५४ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए । चोरी भएकामध्ये ३५ मोटरसाइकल फेला परेको भन्दै थापाले २३ मोटरसाइकल मात्रै धनीलाई फिर्ता गर्न सफल भएको जानकारी दिए । गत वर्ष २०७६/७७ मा दुईवटा मोटरसाइकल तथा यस वर्ष एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको भन्दै थापाले यस वर्ष बेवारिसे अवस्थामा फेला पारिएको मोटरसाइकल धनीलाई फिर्ता गरिएको बताए ।

चितवनमा आर्थिक वर्ष २०७५/७६ मा ४१ वटा मोटरसाइकल चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका थिए । तीमध्ये सात मोटरसाइलक फेला पारेर सवारी धनीलाई फिर्ता गरिएको प्रवक्ता थापाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस