समाचार

उपल्लो डोल्पामा चार महिनामा एक पटक पनि पुगेनन् स्वास्थ्यकर्मी

Upper Dolpa

३० कात्तिक, काठमाडौं । उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी करार कर्मचारीको भरमा चलेको छ । स्वास्थ्यचौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो । अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हितकुमारी रोकायले स्वाथ्यचौकी धानेका छन् ।

शे–फोक्सुण्डो गाँउपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित भएका छन् । स्वास्थ्यचौकीमा कार्यरत अहेब पारस शाही, अहेव चन्द्रदेव यादव र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको वडा नं ८ का बासिन्दा तेजेन्द्र गुरुङ्गले बताए ।

“गत साउनदेखि शाही र बानु गायब छन्, स्वास्थ्य चौकी करार कर्मचारीका भरमा चलेको छ, चार महिनाको अवधिमा एक पटक पनि कार्यरत कार्यालयमा नपुग्नु कतिसम्मको गैरजिम्मेवारीपन हो”, गुरुङ्गले भने ।  साउनमा घर गएका चन्द्रदेव पनि असोज पहिलो साता आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीयवासीको भनाइ छ ।

स्वास्थ्य चौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उनहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशङ्का गरिएको गुरुङ्गको भनाइ छ । स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म नपुगेपछि बाध्य भएर सञ्चार माध्यमलाई जानकारी गराइएको बताइएको छ ।

तीनै जना कर्मचारीलाई स्वास्थ्य चौकीमा फर्कन बारम्बार ताकेता गरे पनि अझै नर्फकिएको वडा नं ८ का अध्यक्ष निमा लामाले बताए । “स्वास्थ्य चौकीमा औषधि छ या छैन त्यो पनि थाहाँ छैन्, कति बिरामी आउँछन् कस्ता बिरामि आउँछन् त्यसको रेकर्ड पनि छैन्, उनीहरुले नियमित कार्यालयमा नपुगेरै तलब खाने काम गरेका छन्”, लामाले भने । स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा, सुम्दुवा, -याँची, छेक्पा र वडा नं ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *