समाचार

‘नागरिकता भए सरकारले दिएको भत्ता खाएर त बाँच्थेँ’

nagarikata

१ मंसिर, काठमाडौं । पाल्पाको रामपुर नगरपालिका-८ पिपलचौरकी ७६ वर्षीय तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ । साहाराबिहिन उनले अहिले छिमेकीको घरमा डेरा लिएर बसेकी छन् । गाँस र बासबाट पीडित उनलाई नेपाली नागरिकता नहुँदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ । तीन सन्तानमध्ये दुई छोरा र एक छोरी रहेपनि अहिले उनी सहाराबिहीन हुन् ।

दुई छोरा लामो समयसम्म बेपत्ता भएपछि जेठो छोरा करिब २२ वर्ष पछाडि मात्रै घर फर्केका छन् । छोरीको बिहेदान भइसकेको छ । उनलाई बुढेसकालमा रेखदेख गर्ने सन्तान भने कोही छैनन् । कुलप्रसाद पाण्डेयसँग १६ वर्षको उमेरमा विवाह गरेकी तुलसाले श्रीमान्को मृत्यु भएपछि सहाराका लागि गाउँकै रमाकान्त पङ्गेनीसँग दोस्रो विवाह गरिन् । पङ्गेनीको पनि विवाह भएको केही वर्षपछि मृत्यु भएपछि अहिले उनी एक्लो जीवन बिताइरहेकी हुन् ।

पहिलो श्रीमान् कुलप्रसाद पाण्डेयबाट बनाइएको नेपाली नागरिकता हराएकी तुलसाले दोस्रो श्रीमान्को परिवारबाट नागरिकताका लागि सनाखत नगरिदिंदा  पाउने सेवा सुविधाबाट वन्चित हुनु परेको छ । “पहिलो श्रीमान्ले बनाएको नागरिकता हरायो, दोस्रो श्रीमान्का दाजुभाई पक्षलाई नागरिकता बनाइदिनका लागि सनाखत गरिदिन अनुरोध गरेपनि वास्तै गरेनन्,” उनले दुखेसो पोखिन्, “कमसेकम नागरिकता भए सरकारले दिएको भत्ता खाएर त बाँच्थे”।

दोस्रो श्रीमान्को मृत्युपश्चात उनी पुनः पहिलो श्रीमानकै घर संरक्षण गरेर बसेकी थिइन् । लामो समयसम्म बेपत्ता जेठो छोरा घर फर्केर आएपछि उनलाई आफैँले जन्माएको छोराले घर निकाला गरिदिएपछि छिमेकीको घरमा कोठा भाडामा बस्छिन् । छिमेकीले दोस्रो श्रीमान् पक्षधरबाट नागरिकता बनाउन सहमति नभएपछि पहिलो श्रीमानबाट जन्मिएका छोरालाई आमाको नागरिकता बनाउन अनुरोध गरेपनि नमानेपछि बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता भएको स्थानीय नेत्रप्रसाद पौडेलले बताए  ।

माइती पाल्पाको पूर्वखोला गाउँपालिका-२ जल्पा माइती घर भइ रामपुरलाई कर्मथलो बनाएकी तुलसालाई रामपुर नगरपालिका-८ को कार्यालयले नागरिकता दिलाउन माइतीतर्फबाट जन्मदर्ता समेत झिकाएको छ । दोस्रो श्रीमान् पक्षकाले सनाखत नगर्नु, पहिलो श्रीमान्बाट आफैँले जन्म दिएको छोराले पनि आमालाई नागरिकता बनाउन सहयोग नगरेका कारणले समस्या बल्झिन पुगेको हो ।

तुलसाले २०५६ सालमा भएको निर्वाचनमा दोस्रो श्रीमान् रमाकान्त पङ्गेनी पति कायम गरी निर्वाचनमा सहभागी भई मतदान गरेको उनका छिमेकी तथा समाजसेवी मुक्तिराम अर्यालले बताए । नेपाली नागरिकता बनाउने कुरामा वडा कार्यालय गम्भीर रहेपनि नजिकका आफन्तले सनाखत नगरेको र यस समस्यालाई समाधान गर्ने कोशिसमा रहेको वडा सदस्य मोहन श्रेष्ठले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस