
२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खाना खुवाएको छ ।
कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा भेला गराएर नभई कुनै पनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टिम नेपाललाई आग्रह गरेको थियो ।
सोहीअनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनका लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताए । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजे पनि मानिसहरु खुलामञ्चमै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उनले बताए ।
खाना खान आउने मानिसहरु भने खुला मञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कि काम देऊ होइन भने खान देऊ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आई निःशुल्क वितरण गरिएको खाना खान बाध्य भएको बताएका छन् । सडकमा बसेर खाना खान आफूहरुको रहर नभई बाध्यता भएको पनि उनीहरुले बताए ।
हाम्रो टीम नेपालले गत चैत ११ गते देखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई चैत १४ गते देखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ ।
तर काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ । व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहायोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।