
५ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेबार राष्ट्रपति भएको आरोप लगाएका छन् । ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा हुँदाहुँदै पनि आश्चर्यजनक रुपमा गेरजिम्मेबारी देखाएको बाइडेनको भनाइ छ ।
ट्रम्पले चुनावमा हार स्वीकार नगर्नुलाई निन्दा गर्दै बाइडेनले यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको टिप्पणी गरे । “ट्रम्पले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन् ।’ बाइडेनले भने । ‘उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ ।’
ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् र विभिन्न राज्यमा मत परिणामविरुद्ध मुद्दा हालेका छन् । कोरोनाभाइरस सङ्कटबारे डेमोक्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको भर्चुअल बैठकपछि बोल्दै बाइडेनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन् ।