समाचार

बञ्चरे ल्याण्डफिल साइटका बासिन्दा भन्छन्ः वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गरौं

banchare landfill

५ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्माण गरिएको बञ्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका बासिन्दाले वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग गरेका छन् । स्थानीयवासीले नयाँ बन्दै गरेको बञ्चरेडाँडा दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइटलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न माग गरेका हुन् ।

फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ ।  नुवाकोटको ककनी गाउँपालिका वडा नं २ र धादिङको धुनिबेंसी नगरपालिका वडा नं २ को बीचमा पर्ने बञ्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइट बनाउने कार्य अन्तिम चरण पुगेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले फोहोरमैला वैज्ञानिक तवरबाट व्यवस्थापन गर्न सरोकार पक्षसँग आग्रह गरेका छन् । सोह्र वर्षदेखि काठमाडौं, भक्तपुर र ललितपुरको फोहोर सिसडोलमा थुपारिँदै आएको छ । सो अवधिमा काठमाडौं महानगरपालिकाले १८ बुँदे सम्झौता कार्यान्वयन नगरेर जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने गरी अवैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गरेको स्थानीयवासीको आरोप छ ।

ककनी– ३ का वडाध्यक्ष घननाथ बजगाईँले फोहर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसलाई वैज्ञानिक तबरबाट उचित व्यवस्थापन गर्नुपर्ने बताए । उनले सम्बन्धित वडा कार्यालयसँग सहकार्य नगरी फोहोर ल्याउने काम भइरहेको आरोप लगाए ।

ककनी –२ का वडाध्यक्ष केदार पौडेलले जुन ठाउँमा फोहोर फाल्ने हो, सो  क्षेत्रका जनतासँग  सम्झौता हुन आवश्यक रहेको धारणा व्यक्त गरे । ककनी – ३ का  श्रीराम ढुङ्गाना प्रभावित १३ गाउँको तीन हजार मिटर जग्गा अधिग्रहण  गरेर व्यवस्थापन गर्नुपर्ने माग गर्छन् । स्थानीयवासी युवक दिनेश कार्कीले विगतका मागलाई पूरा नगरेसम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिइने चेतावनी दिए ।

स्थानीयवासी रामभक्त बस्नेतका अनुसार सो क्षेत्रमा रोगका कारण मर्नेको गणना भएको छैन । फोहोरका गाडीले किचेर मात्र १९ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । सो क्षेत्रमा फोहोर फाल्नका लागि पूर्ण रुपमा निषेध गर्न युवाहरु लागिरहेको उनले जानकारी दिए । धादिङ, धुनीबेंसी नगरपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले पनि वैज्ञानिक र व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन नगर्ने हो भने यस क्षेत्रमा फोहोर फाल्न नहुने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस