
६ मंसिर, सिरहा । सिरहामा कटुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । शनिबार बिहान ७ बजे औरही गाउँपालिका-५ जगदेव बाबा पोखरीमा छठ पर्व मनाइरहेको स्थानबाट एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्ने युवक सोही वडाका २२ वर्षीय रबिन दास हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार दासले पोखरीमा आफ्ना छिमेकी ४२ वर्षीय विनोदकुमार यादवलाई बन्दुकले ताकेका थिए । प्रहरीका अनुसार उनीहरूबीच व्यक्तिगत दुश्मनी थियो ।
त्यहाँ स्थानीयहरू सूर्यलाई अर्घ्य दिइरहेका थिए । बन्दुक ताकेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई पोखरीबाट नियन्त्रणमा लिएको छ । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
रविनलाई हिरासतमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।