६ मंसिर, मोरङ । मोरङ प्रहरीले जुवातास खेल्ने १६ जनालाई पक्राउ गरेको छ । मोरङ रतुवामाई नगरपालिका–८ स्थित सागर बर्तौलाको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ परेकाहरुको साथबाट १ लाख ६९ हजार ६९५ रुपैयाँ नगद समेत बरामद गरेको मोरङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
राईका अनुसार पक्राउ परेकाहरुको साथबाट १ बुक तास, १६ थान कौडा, विभिन्न कम्पनीका १७ वटा मोबाइल, २ वटा कार र १९ वटा मोटरसाइकल समेत बरामद भएको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-७ डिल्लीराम चौलागाईं, मोती पौडेल, रामनाथ मैनाली, देवीप्रसाद प्रसाईं, रामनाथ नेपाल, हेमलाल प्रसाईं, नारायण चुँडाल रहेका छन् ।
यस्तै, रतुवामाई नगरपालिका-८ का सन्तबहादुर राई, सागर गड्तौला, दीपक ढुङ्गाना, देवराज घिमिरे, अशोक भट्टराई, राजन हस्ता सतार, गोपी पराजुली, रविन पोखरेल र बेलबारी नगरपालिका-७ का गणेश श्रेष्ठ छन् । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको राईले बताए ।