
७ मंसिर, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आशंकामा सरकारले ४ अस्पतालका प्रयोगशालालाई स्पष्टीकरण सोधेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाको नमूना भण्डारण नगरेको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको बताए ।
उनले भदौ ३१ गतेको आइसीएसको निर्णय अनुसार कोरोना परीक्षण गर्न सबै ल्याबहरुलाई नेगेटिभको हकमा एक र पोजिटिभको हकमा तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको बताए ।
निजी अस्पतालहरुले दिएका नेगेटिभ पीसीआर रिपोर्ट देखाएर नेपाल एयरलाइन्सहित विभिन्न एयरलाइन्सबाट विदेश जानेहरुमा त्यहाँ गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएपछि नक्कली रिपोर्ट बनाएको बारे छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्वास्थ्य मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा छानबिनका लागि पत्राचार गरेको थियो ।