समाचार

निकुञ्ज नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने

Chitwan National Park

८ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका थिए ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकालाई स्थानीयवासी र जनप्रतिनिधिले हुलहुज्जत गरी भगाएका थिए । उनीहरुले कार्यालयमा समेत तोडफोडको प्रयास गरेको अधिकारीले जानकारी दिए ।

घटनाअनुसार शनिबार राति १२ः१५ बजे निकुञ्जको भित्री इलाका नारायणी नदीको गोहीघाट आइल्याण्ड क्षेत्रमा गैरकानूनी तारबार निषेधित कार्य गरेका अभियोगमा तिनलाई पक्राउ गरिएको थियो ।

उनीहरुले माछा मार्न प्रयोग गरिने निषेधित तियारी जाल प्रयोग गरी राति माछा मार्ने तथा झुप्रा बनाई संवेदनशील क्षेत्रमा बसेर शङ्कास्पद गतिविधि गरेको देखिएपछि पक्राउ गरिएको उनले बताए । अवैध क्रियाकलापमा संलग्न रहेकाले पक्राउ गरिएको र घटनाका विषयमा जाँचबुझ तथा आवश्यक सोधपुछसमेत गर्न नदिइकन हुलहुज्जत गरी भगाउँदा सो क्षेत्रमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ ।

गैरकानूनी रुपमा माछा मार्न मात्र नभएर चोर– शिकारीलाई समेत नदीमा वारपार गराउन प्रयोगमा आएका आशङ्का गरिएका १३ डुङगा नष्ट गरिएको सूचना अधिकारी अधिकारीले बताए । पक्राउ परेर भागेकामध्ये दुई जना मध्यविन्दु नगरपालिका–३ का र अन्य २९ जना कावासोती नगरपालिका–१५ का बोटे, माझी र मुसहर छन् ।

तिनलाई यथाशक्य चाँडो खोजी गरी पुनःकानूनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । सोही क्षेत्रमा केही समय अगाडि चोर–शिकारीले दुर्लभ एकसिँगे गैँडा मारेका थिए । पछिल्लो समय गैँडा मारिने क्रम बढेको छ ।

चालु आर्थिक वर्ष शुरु भएयता चार गैँडा चोर–शिकारीबाट मारिएको अवस्थामा भेटिएका छन् । निकुञ्जले चोरीशिकार र प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि समिति बनाएर अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस