८ मंसिर, काठमाडौं । प्याराग्लाइडिङ दुर्घटना परी पोखरामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ३८ वर्षीय प्याराग्लाइडिङ चालक राजु गैरे नेपालीको मृत्यु भएको हो । सराङकोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाइडिङ दुर्घटनामा परेर नेपालीको मृत्यु भएको कास्की प्रहरी प्रमुख (एसपी) जीवन श्रेष्ठले जानकारी दिए ।
यस्तै प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको छ । प्याराग्लाइडिङ काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ घर भएकी २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएको एसपी श्रेष्ठले बताए ।
घाइते श्रेष्ठको मेट्रो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको एसपी श्रेष्ठले बताए। श्रेष्ठको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्ड हुनुभन्दा २ किलोमिटर अगाडि दुर्घटना भएको प्रहरीले जनाएको छ ।