समाचार

राज्यका साझा सम्पत्ति तीनै तहका सरकारले सदुपयोग गर्नुपर्छः मुख्यमन्त्री पौडेल

Dormani

१० मंसिर, हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राज्यका साझा सम्पत्ति तीनै तहका सरकारले सदुपयोग गर्न सक्ने बताएका छन् । वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयको सभागृह निर्माणको आज बिहान शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले बन्दै गरेको भवन प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका लागि निर्माण गरे पनि सरकारी निकायले आवश्यकतानुसार उपयोग गर्न सक्ने बताए ।

हेटौंडा उपमहानगरपालिका –२ स्थित कार्यालयको जमीनमा भवन निर्माण प्रारम्भ भएको हो । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी घोषणासँगै अस्थायी मानसिकता हट्दै गएको उल्लेख गर्दै प्रदेश सरकारले अब स्थायी संरचना निर्माण गर्दै जाने बताए । उनले निर्माण कम्पनीलाई निर्धारित समयअगावै कामसक्न अनुरोध गर्दै काम चाँडो सके पुरस्कृत गरिने तथा तोकिएको समय कटाए आवश्यक कारवाही गरिने चेतावनी दिए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले मोटरबाटो नपुगेका स्थानमा मोटरबाटो, आवासविहीनका लागि घर, पानीका लागि धारा तथा कुलो एवं अन्य आवश्यकता पूरा गर्ने गरी काम भइरहेको बताए  । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रदेश सरकारसँग सहकार्यमा काम गर्दा धरै उपलब्धि हात पार्न सकिएको बताए ।

प्रदेशसभा भवन शिलान्यास 
हेटौंडा –१० मा निर्माण हुन लागेको प्रदेशसभा भवनको पनि आज शिलान्यास गरिएको छ । भवन शिलान्यास गर्दै वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, विभिन्न मन्त्रालयलगायत संरचना एकैस्थानमा निर्माण गर्नका लागि प्रदेश सरकार लागिपरेको बताए । सभामुख श्रेष्ठले सामरिक हिसाबले उपयुक्त स्थानमा राजधानी तोकिएको र त्यो महत्वलाई कायम राख्दै संरचना निर्माण गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले हरेक विकासनिर्माणका काम तीन तहका सरकार र जनसहभागितामा दु्रतगतिमा अगाडि बढेको बताए । प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको काम गराइप्रति खुशी व्यक्त गर्दै आगामी निर्वाचन अगावै संसदीय क्रियाकलापमा प्रयोग गर्न सक्ने गरी छिटो सभागृह निर्माण सक्न आग्रह गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस