
१० कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।
कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि जानकारी दिँदै अहिले होम क्वारेन्टिनमा रहेको बताए । मंगलबार टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।
सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी र करण केसीको कोरोना परीक्षण गरिएको थिएन । उनीहरु बन्द परीक्षणमा लागि आइनसकिएको जनाइएको छ । बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस