
१० मंसिर, भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालक सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरू काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुबबहादुर मगर र काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर रहेका छन् ।
उनीहरूबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त सालक लिएर हिँडीरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र थप अनुसन्धानको लागी जिल्ला वन कार्यालय भक्तपुर पठाइने प्रहरी परिसर सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।