
११ मंसिर, पोखरा । पोखरामा गाँजासहित तीन जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की मातहत इलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोकबाट पक्राउ गरेको हो । झोला भित्र लुकाएर राखेको गाँजा १ किलो १ सय ग्राम, मोबाइल २ थान र नगद ३ हजार ७ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर ३१ किमबेशी बस्ने २६ वर्षीय जीवन भुजेल, रुपा गाउँपालिका वडा नम्बर ७ स्याक्लुङ बस्ने २६ वर्षीय रुबिन गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ३१ लामागाउँ बस्ने १७ वर्षीय युवक रहेका छन् । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।