राजनीति

नेपाल–भारत संवादहीनताको पर्दा खुल्दै

oli shringla

१२ मंसिर, काठमाडौं । नेपाल–भारत सीमा विवादका कारण करिब एक वर्षयता देखिएको संवादहीनताको अवस्था पछिल्लो समय बिस्तारै हट्दै गएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला र नेपाली समकक्षी भरतराज पौड्यालबीच बिहीबार सम्पन्न बैठकमा आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति भएको छ । बैठकमा भारतीय टोलीको नेतृत्व सचिव श्रींगला र नेपाली पक्षको नेतृत्व सचिव पौड्यालले गरेका थिए ।

‘हामीबीच निकै फलदायी बैठक भएको छ,’ भारतीय विदेश सचिव श्रींगलाले सञ्चारकर्मीसँग भने, ‘दुई पक्षीय सहकार्यका कैयौं विषयमा छलफल भएको छ ।’ बैठकमा द्विपक्षीय सहयोगको समीक्षा र आपसी हितका मुद्दामा छलफल भयो । त्यस्तै दुवै देशबीच उत्पन्न सीमा विवादका विषयमा पनि छलफल भयो । सीमा विवाद आपसी छलफलबाटै समाधान गर्ने सहमति बनेको बैठक स्रोतले बतायो । बैठक र भेटमा दुवै समकक्षीले द्विपक्षीय परियोजनाहरूको प्रगतिको सराहनासमेत गरे । नेपाल–भारतबीच सीमा विवादलाई लिएर तिक्तता सुरु भएको करिब एक वर्षपछि दुई देशका बीचमा विदेश सचिवस्तरीय बैठक भएको हो ।

सीमा विवाद समाधानका लागि नेपालले पटकपटक विदेश सचिवस्तरीय बैठकका लागि आग्रह गरे पनि भारतले बेवास्ता गर्दै आएको थियो । भारतले कोरोना महामारीको कारण देखाउँदै नेपालले प्रस्ताव गरेको मितिमा छलफलका लागि अनिच्छा देखाउँदै आएको थियो । तर पछिल्लो पटक करिब एक महिनाको अवधिमा भारतबाट एकपछि अर्काे गर्दैै महत्त्वपूर्ण भ्रमण भइरहेका छन् । यसअघि कात्तिकमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल र सेना प्रमुख मनोज मुकुन्द नरवाणेले नेपाल भ्रमण गरेका थिए ।

श्रींगलाले बिहीबार नै शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनकै कार्यकक्ष सिंहदरबारमा पुगेर शिष्टाचार भेट गरे । सो अवसरमा उनले मन्त्री ज्ञवालीलाई कोभिड–१९ विरुद्ध लड्न भारत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरे । त्यसक्रममा उनले भारतले ठूलो परिमाणमा कोभिड–१९ भ्याक्सिन उत्पादन गर्न लागेको जानकारी गराउँदै खोप पाउन नेपाललगायत निकटस्थ मित्रहरू भारतको प्राथमिकतामा पर्ने बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस