समाचार

न्यायिक समितिमा परेका उजुरी मेलमिलापबाट मिलापत्र

adalat

१२ मंसिर, काठमाडौं । व्यास नगरपालिकाको न्यायिक समितिमा परेका सर्वाधिक उजुरीलाई मेलमिलापका माध्यमबाट मिलापत्र गरिएको छ । स्थानीयवासीसँग छलफल तथा  स्थलगत अनुगमन गरी अधिकांश उजुरी मेलमिलापका माध्यमबाट फछ्र्यौट गरिएको न्यायिक समितिले जनाएको छ ।

विवाद निरुपण गर्न नसकेका उजुरी जिल्ला अदालतमा पठाउन सकिने कानूनी व्यवस्था भए पनि पक्ष, विपक्ष, सँधियार, वडा प्रतिनिधि र नगपालिकाका प्राविधिकसहित फिल्ड डोर खटाई अधिकांश मिलापत्र गरिएको न्यायिक समिति संयोजक मीरा जोशीले जानकारी दिए ।

बाटो विवादपछि धेरै उजुरी माना चामलसम्बन्धी  छन् । गत आर्थिक वर्षमा परेका २३ उजुरीमध्ये छ वटा बाटो विवादसम्बन्धी र माना चामलसम्बन्धी पाँच उजुरी परेको संयोजक जोशीले बताए । सामुदायिक, सरकारी तथा सार्वजानिक जग्गामा व्यक्तिगत प्रयोजनका लागि बाटो अतिक्रमण  रोकेर संरक्षण गर्नाका साथै बाटालाई समेत निकास गरिएको छ । श्रीमान्श्रीमतीबीच झगडा भई मानाचामलका लागि परेको उजुरीमा पनि पक्ष र विपक्ष बोलाई मेलमिलापद्वारा समस्या समाधान गरिएको समितिले जनाएको छ  ।

आर्थिक वर्ष ०७५/०७६ मा जिम्मेवारी सरिआएका ११ मुद्दामध्ये सात फछ्र्र्योट गरी चार बाँकी रहेका प्रशासकीय अधिकृत रामचन्द्र हड्खलेले जानकारी दिए । उनका अनुसार ०७६/०७७ मा दर्ता भएका २३ मध्ये १४ फछ्र्यौट भई नौ  बाँकी  छन् । आर्थिक वर्ष ०७७/०७८ मा जिम्मेवारी सरिआएका मुद्दाको सङ्ख्या १३ छ ।

ठेकदारले ज्याला नदिएका जस्ता उजुरीलाई पनि मिलापत्र गराएर मजदुरलाई ज्याला दिलाइएको छ । उनले भने, “मजदुरले ज्याला नपाएका बेला मिलापत्र गराएर ज्याला दिलाउँदा न्यायिक सम्पादन भएको महसुस भएको छ ।” कानूनी कठिनाइ आएका विषयमा सहजीकरणका लागि अधिवक्ता यज्ञ रानालाई कानूनी सल्लाहकार राखिएको सो समितिले जनाएको छ । उजुरी निरुपणलाई सहज बनाउन नगरपालिकाले छुट्टै न्यायिक सम्पादन कक्ष स्थापना गरेको छ । संयोजक जोशीसहित न्यायिक समिति कृष्णदेवी खनाल र लक्ष्मी परियार गरी तीन सदस्यीय  छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस