१३ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिवेदनमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उल्लेख रहेको स्रोतले बतायो ।
दाहालले लगाएको आरोपको खण्डन गर्दै प्रतिवेदन तयार पारेका प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीको नेतृत्व लिन नयाँ पुस्ता सक्षम भइसकेकाले सहज ढंगले हस्तान्तरण गर्ने विषयलाई जोड दिएको उनी पक्षका एक नेताले बताए । ‘मुलुकको कार्यकारी प्रमुख तथा पार्टीका प्रथम अध्यक्ष भएकाले उहाँ (ओली) को जवाफ गैरराजनीतिक र गैरजिम्मेवार हुँदैन,’ ती नेताले भने, ‘देश र पार्टीको आजको आवश्यकता र भोलिको सही बाटो के हुने भन्ने दिशानिर्देश प्रतिवेदनले गर्नेछ ।’
ओलीले सचिवालयमा प्रस्तुत गर्ने सो प्रतिवेदनबारे आफ्नो टिमका नेताहरूसँग लामो छलफल गरेका छन् । ती नेताका अनुसार फर्जी विषय उठान गरेर आरोप लगाउने कुरा छैन तर आरोपको खण्डन भने यथार्थपरक ढंगले हुन्छ। ‘पार्टी एकता कमजोर पार्ने र फुटलाई बढावा दिने हिसाबले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओलीको प्रतिवेदन आउँदैन, समस्याको निकास दिनेगरी आउँछ तर खण्डन गर्दा कतिपय विषय तीतो यथार्थ पनि हुन सक्छन्,’ ती नेताले भने । दाहालले व्यक्तिगत रूपमै आरोप लगाएपछि त्यसको खण्डन गर्नुपर्ने अवस्था आएको स्रोतको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।